झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको ६ लाख २९ हजार ऋण मिनाहा गरेको छ ।
विगत चार वर्षदेखि सिम्रिकको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको असोज १४ गते उपचारका क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो । उनको घर मेचीनगर–७ इटाभट्टामा छ ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतका अनुसार मृतकको एक मात्र छोरी आरुषी राजवंशीको शिक्षाका लागि संस्थाले तीन लाखको अक्षयकोष स्थापना गरिदिने र त्यसबाट आउने वार्षिक ३३ हजार ब्याजबाट पढाइ खर्च उपलब्ध गराइने जनाएको छ ।
आरुषी १७ वर्षको भएपछि अक्षयकोषको रु तीन लाख फिर्ता दिने र उच्च शिक्षाका लागि उनको नाममा खाता खोली संस्थाले मासिक दुई हजार जम्मा गरिदिने अध्यक्ष बस्नेतले बताए । बचतको रकम उनी २३ वर्षको भएपछि एकमुष्ट ७ लाख २० हजार फिर्ता दिने संस्थाले जनाएको छ ।
सुकमती राजवंशीले बजार प्रतिनिधि भएवापत घर बनाउन सिम्रिकबाट १० लाख ४० हजार ऋण लिएका थिए । उनको असामयिक निधनपछि आश्रित परिवारलाई ऋणको बोझ नहोस् भनेर मिनाहा गरिदिएको बस्नेतले बताए ।
कर्जा लिएको रकममध्ये ११ हजार तिरिसकेको अवस्थामा १० लाख २९ हजार कर्जा भुक्तानी गर्न बाँकी नै थियो । जसमध्ये सुकमतीको निधनपछि कर्मचारीले पाउने ४ लाख संस्थाले ऋणमा मिलान गरेको छ ।
मृतकको परिवारलाई काजकीरिया खर्चवापत संस्थाले ३० हजार रुपैयाँ प्रदान गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया