विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा

0
Shares

राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध मुद्दा चलाएको छ ।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ ।

उक्त बिगो असुलउपर गरी तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद साजयको मागदावी लिई बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशन दीर्घराज मैनालीले जानकारी दिए।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्स मार्फत विदेशमा निर्मित मोवाइल, मेमोरीकार्ड लगायत माल वस्तुहरु पटक पटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

कानुन अनुसार माल वस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा माल वस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी र पैठारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्ता मालवस्तु तेश्रो मुलुकबाट ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन सकिँदैन । ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी रुपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको विभागले जनाएको छ ।

विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, दफा ८ (२) र दफा ९ (ग) बमोजिम कसूर गरेकाले मुद्दा चलाइएको मैनालीले जानकारी दिए।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असाेज २०७७, बिहीबार  १८ : ५५ बजे