समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

0
Shares

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

फाइनान्सले चुक्ता पूँजी वृद्धि गर्न असोज १६ गतेदेखि एक बराबर दुई अनुपातमा १०० रुपैयाँ अंकित दरमा ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको छ ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो । यसअनुसार हकप्रदमा भदौ ११ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

फाइनान्सको हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त शेयरधनीको बैंक खाता रहेको बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत अनलाइन आवेदन गर्न सकिनेछ । फाइनान्सको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यसैगरी बीओके क्यापिटल मार्केट कमलादी, बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरु धनगढी, नेपालगंज, सुर्खेत, विरगञ्ज, पोखरा, नारायणघाट, जनकपुर, विराटनगर, बिर्तामोड तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा र शाखा कार्यालयहरु पुतलीसडक तथा बुटवलबाट पनि बुझाउन सकिनेछ ।

फाइनान्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि आईपीओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ५ रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ ।

हाल फाइनान्सको चुक्ता पूँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पुग्नेछ । फाइनान्समा ५९.३७ प्रतिशत संस्थापक र ४०.६३ प्रतिशत सर्वसाधारणको शेयर हिस्सा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।