मेगा बैंकको लिलामी शेयर नपरेको रकम फिर्ता सुरु

0
Shares

मेगा बैंक (MEGA) को लिलामी शेयरको बिक्री प्रबन्धक मेगा क्यापिटलले असोज ११ गतेदेखि १८ गतेसम्म लिलामीमा आवेदन गरेर शेयर प्राप्त गर्न नसकेको लगानीकर्ताको रकम फिर्ता सुरु गरिएको जनाएको छ ।

एक साताअघि शिलबन्दी बोलपत्र खुला गरेर पनि अझैपनि लगानीकर्ताले रकम फिर्ता नपाएको गुनासोमा नोटबजारसँग कुरा गर्दै क्यापिटलको प्रतिनिधिले भने ‘हामीले हिजोदेखि नै रकम फिर्ताको प्रकृया सुरु गरिसकेका छौं । मेगा बैंकमा खाता हुनेहरुका लागि अहिलेसम्म रकम जम्मा भैसकेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका आवेदकहरुलाई पनि आईपीएस मार्फत फिर्ता गर्ने प्रकृया थालिएको छ ।’

यता लगानीकर्ताहरु भने दशैंको मुखमा रकम फिर्ता नगरेको भन्दै क्यापिटलको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् ।

बैंकको शेयर लिलामीमा आवेदन गरेका एक लगानीकर्ताले भने ‘मेगा क्यापिटलले दशैंको समयमा लिलामीका लगानीकर्ताको रकम फिर्तामा ढिलाई गरेर आफ्नो असल छाप कायम गर्न सकेको छैन । मेगा क्यापिटलले भने शिलबन्दी बोलपत्र खुला भएको एक सातापछि हिजो मात्र बाँडफाँड गरिएको सूचना आज प्रकाशन गरेर दशैंपछि मात्र रकम फिर्ता गर्ने सोच बनाएको देखिन्छ । ’

उनका अनुसार यसअघिका गुराँस लाइफ, शिखर, प्रुडेन्सियल इन्स्योरेन्सहरुको बिक्री प्रबन्धकहरुले बोलपत्र खुला गरेको दुई तीन दिनभित्रमा नै शेयर बाँडफाँड गरेर त्यसको भोलिपल्ट नै रकम फिर्ता थाल्ने गरेका थिए । यसअनुसार क्यापिटलले पनि लिलामी शेयर नपाउनेलाई अबिलम्ब रकम फिर्ता गर्नुपर्ने उनको भनाई छ ।

क्यापिटलले असोज ११ देखि १८ गतेसम्म सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ कित्ता र सस्थापक समूहको ११ लाख ३३ हजार ३४४ कित्ता शेयरमा परेको शिलबन्दी बोलपत्र असोज २९ गते खुला गरेको थियो । बैंक सञ्चालक समितिको बैठकले एक सातापछि कार्तिक ५ गते बिहीबार बाँडफाँड गरेको छ ।

बैंकले लिलामीमा ल्याएको साधारण शेयरको कटअफ मूल्य २१६.२० रुपैयाँ र संस्थापक शेयरको कटअफमूल्य ११० रुपैयाँ कायम भएको छ । सो मूल्यभन्दा बढीमा बोलपत्र पेश गरेका लगानीकर्ताले लिलामीको शेयर प्राप्त गरेका छन् । कटअफमूल्यभन्दा कम मूल्यमा आवेदन गर्नेहरुलाई भने आवेदनको बेला उल्लेख गरिएको बैंक खातामा नै आईपिएस मार्फत लिलामी आवेदन रकम फिर्ता सुरु गरिएको क्यापिटलले जनाएको छ ।

बैंकको लिलामी शेयरमा सर्वसाधारण समुहका लागि ५ हजार ३१ वटा र संस्थापक समूहमा ११९ वटा आवेदन परेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ कात्तिक २०७७, बिहीबार  १३ : ५६ बजे