सिद्धार्थ इन्स्योरेन्सको सन्तुलित प्रगति, खुद नाफा ५ करोड माथि

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमबद्ध प्रगति हासिल गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले असोज मसान्तसम्ममा ५ करोड ६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ७९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा २७ लाख ६७ हजार रुपैयाँले बढेको हो ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी २०.२९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२९.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.२३ गुणा छ । इन्स्योरेन्सको बीमा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ, जगेडा कोषमा ३४ करोड ५१ लाख र महाविपत्ती कोषमा ९ करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्ममा इन्स्योरेन्स कम्पनीले २५ करोड ११ लाख ९९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको प्रथम त्रैमासमा २७ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा २ करोड ५६ लाख रुपैयाँले संकुचित बनेको हो ।

यस अवधिमा कम्पनीले ३७ करोड ४५ लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा र २ अर्ब ५० करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जा तथा लगानी गरेको छ । इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ९ करोड ५८ लाख र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले ४५ हजार ७३३ वटा बीमालेख जारी गरेकोमा ११ हजार ५४२ वटा बीमालेख नवीकरण भएका छन् । यस अवधिमा कम्पनीले ६४ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सकोले १ हजार ७५० वटा दाबी बापत २५ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार २६७ दाबी बापत ९८ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

गत आवको यसै अवधिमा कम्पनीले ३८ हजार ५७७ बीमालेख जारी गरेकोमा ६ हजार ६५० वटा नवीकरण भएका थिए । ५६ करोड २८ लाख ७५ हजार कुल बीमाशुल्क संकलन गरेको कम्पनीले १ हजार ६९० वटा दाबीको २६ करोड २३ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको थियो भने ४ हजार १९२ दाबीको ७० करोड २८ लाख ६० हजार बराबरको भुक्तानी गर्न बाँकी रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।