‘एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड’ को इकाई बिक्री मंसिर १२ गतेदेखि

‘एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड’ को इकाई बिक्री मंसिर १२ गतेदेखि


सामूहिक लगानी कोष एनआईसी 'एशिया डाइनामिक डेब्ट फण्ड' को १ करोड २५ लाख इकाईको बिक्री यहि मंसिर १२ गते शुक्रबारदेखि खुला हुने भएको छ ।

एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला गर्ने भएको हो । क्यापिटलको योजना व्यवस्थापनमा पहिलो पटक खुलामुखी सामूहिक लगानी कोषको इकाई बिक्रीमा आउन लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट योजना अन्तर्गत ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई निष्काशन गर्न अनुमति पाएकोमा १५ प्रतिशत (७५ लाख इकाई) कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ । सर्वसाधारणमा बिक्रीमा आउने ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा १ करोड २५ लाख इकाई लागि बिक्री खुला गरिएको हो ।

यस योजनामा लगानीकर्ताले मंसिर १२ देखि १६ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । सो अवधिमा सबै इकाई खरीदका लागि माग नपरेको खण्डमा भने मंसिर २६ गतेसम्म आवेदन दिन पाइने जनाइएको छ ।

‘आजको हजार, भोलिको हजारौँ हजार’ भन्ने नाराको साथ बिक्रीमा आउन लागेको यस योजनामा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि एक हजार रुपैयाँदेखि र अधिकतम ५० लाख इकाईको लागि ५ करोड रुपैयाँसम्म सम्म आवेदन दिन सकिनेछ । योजनाको इकाई तोकिएका बिक्री केन्द्रबाट खरीद बिक्री समेत गर्न सकिनेछ । यस्तै हाल आवेदन दिएका लगानीकर्ताले तीन महिनापछि रकम थप्दै जान समेत सकिने जनाइएको छ ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ्ग दिएको छ । यस्तै प्रवद्र्धकलाई इक्रा नेपालले ‘इक्राएनपी–बीबीबी प्लस’ रेटिङ्ग दिएको छ । यसले मध्यम जोखिम रहेको जनाउँछ ।

क्यापिटलको व्यवस्थापनमा यसअघि नै एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्ड गरी दुई वटा बन्दमुखी योजना हाल सञ्चालनमा रहेका छन् भने १ अर्ब रुपैयाँ आकारमा चौंथो बन्दमुखी योजना ‘एनआईसी एशिया सेलेक्ट ३०’ योजना बिक्रीका लागि समेत क्यापिटलले धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

यस योजनाले विशेषगरी कम लगानी जोखिम रहेका ऋणपत्रहरुमा लगानी गर्ने प्रमुख उदेश्य राखेकोे छ । योजना बिक्रीबाट प्राप्त हुने २० प्रतिशत रकम शेयर बजारमा ८० प्रतिशत रकम ऋणपत्रहरुमा लगानी गरिने जनाइएको छ ।

उच्च प्रतिफल र आम्दानी दिने यस योजनाको इकाईमा निर्धक्क भएर लगानी गर्नसक्ने क्यापिटलले जनाएको छ । ऋणपत्र उपकरणहरुमा मात्र लगानी गरिने र त्यसमा जोखिम कम हुने भएकोले यस योजनामा गरिने लगानी सबैभन्दा सुरक्षित हुने क्यापिटलको भनाई छ । फण्डको योजना व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले गत वर्षको मुनाफाबाट इकाइधनीलाई १२ प्रतिशत र ब्यालेन्सड् फण्डले ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र निष्काशन क्रम तीब्र बनाइरहेको बेला प्रमुख लगानी ऋणपत्रमा गर्नेगरी फण्ड सञ्चालनमा आउन लागेकाले समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने विश्वास क्यापिटलको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार १४ : ०४ बजे