माउण्टेन इनर्जी नेपालको आईपीओ अर्को साता मात्रै बाँडफाँड हुने

0
Shares

माउण्टेन इनर्जी नेपालको आईपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको छ । यसबीचमा मेरो शेयरमा आएको प्राविधिक कठिनाइका कारण कम्पनीको शेयर बाँडफाँड लम्बिएको हो ।

नोटबजारसँग कुराकानी गर्दै नबिल इन्भेष्टमेन्ट बैंकिङका एक प्रतिनिधिले भने “आईपीओमा प्राप्त आवेदनलाई भेरिफाई गर्ने कार्यक्रम आज भैरहेको छ । डेटा भेरिफाइको क्रम सकिए भोलि नै नत्र आइतबार प्रि अलटमेन्ट हुन्छ ” । उनले भने ।

यसअनुसार कम्पनीको आईपीओ ढिलोमा पनि आगामी साताको बुधबारभित्रै बाँडफाँड भैसक्नेछ । प्रि अलटमेन्ट भएको तीन दिनभित्र आईपीओ बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ ।

माउण्टेनको आईपीओमा ६ लाख ७४ हजार वटा आवेदनबाट १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बरारको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि माग परेको छ । जुन सर्वसाधारणमा निष्काशन भएको कित्ताको तुलनामा ७.६१ गुणा बढी आवेदन हो ।

धितोपत्र निष्काशन बाँडफाँड निर्देशिका २०७४ अनुसार गोलाप्रथाबाट १ लाख ८३ हजार जनाले १० कित्ताका दरले पाउनेछन् ।

माउण्टेन इनर्जीले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार २६५ कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताबाट आवेदन माग गरिएको थियो ।

माउण्टेन इनर्जीको आईपीओलाई क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘ग्रेड ४ रेटिङ’ दिएको थियो । यसले औषत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।

म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको माउन्टेन इनर्जीले विवरण अनुसार आर्थिक वर्ष २०७८।७९ मा प्रतिशेयर आम्दानी ३६.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५.२८ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

कम्पनीमा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोद कुमार खेतान, प्रदिपजंग पाण्डे लगायत चर्चित उद्यमीहरुको प्रमुख लगानी रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहीबार  १५ : ०५ बजे