युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको आइतबार ४ बजे ग्लोबल आईएमई क्यापिटलमा खुला गरिँदैछ ।
कम्पनीले निष्काशन गरेको शेयरमा आवेदन गरेका ५ लाख ४१ हजार २६३ आवेदन गरेका छन् ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ८१ हजार २७३ आवेदक (१५ प्रतिशत) ले मात्रै पाउनेछन् भने ४ लाख ५९ हजार ९९० आवेदक (८५ प्रतिशत) को हात खाली हुनेछ । शेयर पाउने ८१ हजार २७३ आवेदक मध्ये ६ जनाले ११ कित्ता शेयर पाउनेछन् ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले मंसिर ३ देखि ७ गतेसम्म ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
यस्तै निष्काशित शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ ।
कम्पनीको शेयरमा ५ लाख ४१ हजार २६३ आवेदकबाट ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको ९४ लाख ९८ हजार ४०० कित्ता माग गर्दै आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जानकारी दिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया