हस्तकलाको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार गर्ने

0
Shares

निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तराष्ट्रिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवद्र्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताएका छन् । हस्तकला समृद्धिका सम्भावना भन्ने नाराकासाथ नेपाल हस्तकला महासंघले आफ्नो ४८औं बार्षिकोत्सब नवौं हस्तकला दिवस र हस्तकला बर्षको आइतबार शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारकातर्फ के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, सोबारेमा सुझाव दिन महासंघलाई आग्रह गरेका छन् । साथै मन्त्री गुरुङले हस्तकलाको अनलाइन मार्केटिङका लागि पनि मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवद्र्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताए । उनले हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए । उत्पादन लागत घटाउन सरकारले सहजीकरण गर्नसक्ने भएपनि गुणस्तरीय उत्पादनका लागि व्यवसायी नै लाग्नुपर्ने उनको भनाइ छ ।
सविच अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भएपनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको गुनासो गरे । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाको प्रवद्र्धनका लागि अनलाइन मार्केटिङमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि हस्तकलाको प्रवद्र्धनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल हस्तकला महासघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला व्यवसायमा समस्याबारेमा ध्यानाकर्षण गराएका थिए भने महासंघका उपाध्यक्ष एवं ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस समितिका संयोजक रविन्द्र शाक्यले हस्तकला बर्षका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । महासंघल हस्तकला वर्षका लागि २५ बुँदे वार्षिक कार्यक्रम घोषणा गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  २० : ०८ बजे