नेपाल लाइफको पहिलो पटक एकैदिन अर्ब बढीको शेयर कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एकैदिन अर्ब बढीको शेयर कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार नेपाल लाइफको सर्वाधिक उच्च कारोबार हुँदा कारोबार रकम पहिलो पटक एक अर्ब भन्दा माथि पुगेको हो ।

यसदिन नेपाल लाइफको ५ लाख १ हजार १०६ कित्ता शेयर ३ हजार ४६५ पटक किनबेच भएर एक अर्ब ७ करोड १९ लाख रुपैयाँको कारोबार भएको हो ।

यस अघि नेपाल लाइफको गत मंसिर ३० गते सर्वाधिक कारोबार भएको थियो। मंसिर ३० गते कम्पनीको ५२ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेपाल लाइफको सर्वाधिक कारोबार भएको दिनमा शेयर मूल्य भने ४.१९ प्रतिशतले घटेको छ । कम्पनीको आइतबार २ हजार १९५ रुपैयाँमा कारोबार खुलेकामा २ हजार १०८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

बीमा कम्पनीहरुले लाभांश घोषणा गर्ने समय नजिकिँदै गर्दा बीमा कम्पनीहरुको शेयर खरिद बिक्रीमा बढोत्तरी आउन थालेको छ ।

नेपाल लाइफले आकर्षक लाभांश घोषणा गर्ने आशमा पछिल्ला दिनहरुमा यो कम्पनीको शेयर मूल्य निरन्तर बढिरहेको थियो । आइतबार भने संसद विघटनको खबर सार्वजिनक भएपछि नेप्सेमा आएको उच्च गिरावटसँगै नेपाल लाइफको पनि शेयरमूल्य उच्चदरले घटेको छ ।

कम्पनीले २०७४/०७५ सालमा २३ दशमलव ५ प्रतिशत नगद र २५ प्रतिशत बोनस गरी कुल ४८ दशमलव ५ प्रतिशत लाभांश दिएको थियो ।  साताको पहिलो दिन आइतबार नेप्से ९६.८८ अंकले घटेर १९३५.६३ अंकमा कायम भएको छ । यसदिन कारोबारमा आएका बीमा सहित सबै उपसमूहका सूचक राताम्मे रहे ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।