पाँच जीवन बीमा कम्पनीको शेयरमूल्य पुस यता घट्यो, नेपाल लाइफका लगानीकर्ताले कमाए

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९ जीवन बीमा कम्पनीमध्ये पुस यता ५ कम्पनीको शेयर मूल्य घटेको छ ।

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी), रिलायन्स लाइफ, गुँरास लाइफ, सूर्या लाइफ र प्राइम लाइफको शेयर मूल्य घटेको हो । यस अवधिमा प्राइम लाइफ इन्स्योरेन्सको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा बढी १०.६३ प्रतिशतले गुमाएका छन् ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) को शेयर मूल्य ३.७३ प्रतिशतले घटेको छ । मंसिर ३० गते शेयर मूल्य २२६५ रुपैयाँ रहेको कम्पनीको शेयर ३.७३ प्रतिशतले घटेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३.७६, गुँरास लाइफको शेयर मूल्य ५.३६ र सूर्या लाइफको पनि ५.५४ प्रतिशतले घटेको छ ।

  • नेपाल लाईफ सहित तीन कम्पनीको मात्र शेयरमूल्य बढ्यो

पुस यता नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये ३ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफको मात्र शेयर मूल्य बढेको हो ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेको छ । इन्स्योरेन्सको शेयर मूल्य ६.६७ प्रतिशतले बढेको हो । गत आवको नाफाबाट कम्पनीले ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद सहित ५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि कम्पनीको मूल्य उच्च बढेको हो ।

यसैगरी नेशनल लाइफको शेयर मूल्य ५.६९ र एशियन लाइफको शेयर मूल्य १.३७ प्रतिशतले बढेको छ ।  प्रभु लाइफ इन्स्योरेन्सको भने पुस १९ गते आइतबारदेखि पहिलो कारोबार खुलेको हो । प्रतिकित्ता १३७ मा कारोबार खुलेको प्रभु लाइफको पहिलो दिन कम्पनीको शेयरमूल्य २.९२ प्रतिशतले बढेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।