चार स्थानीय तह अझै वाणिज्य बैंकको शाखा विहीन

चार स्थानीय तह अझै वाणिज्य बैंकको शाखा विहीन

सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य राखे नीतिगत कडाई हुुन नसक्दा अझैपनि मुलुककम चार स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न नसकेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ताप्लेजुङको मिक्वाखोला, धादिङको रुबिभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडामा वाणिज्य बैंकको शाखा पुग्न नसकेको हो ।

केन्द्रीय बैंकले २०७६ असारभित्र सबै स्थानीय तहमा बैंकका शाखा विस्तार गरिसक्नु पर्ने बताएको थियो । तर विभिन्न कारणले चालू आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ अनुसार देशभरका चार गाउँपालिकामा अझै वाणिज्य बैंक पुग्न नसकेको हो ।

भौगोलिक विकटता र प्रविधिको सहज पहुँच नभएका कारण ७५३ वटा स्थानीय तहमध्ये ७४९ वटा स्थानीय तहमा  मात्र वाणिज्य बैंकको शाखा विस्तार भएको छ । २०७६ मंसिरसम्म ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

  • कहाँ कति छन् शाखा ?

राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश १ र २ का स्थानीय तहमा सबैभन्दा धेरै वाणिज्य बैंकका शाखा  पुगेका छन् । दुबै प्रदेशका समान १३६ स्थानीय तहमा बैंकका शाखा खुलिसकेका छन्।

वाग्मती प्रदेशका ११८, गण्डकीका ८५, लुम्बिनीका १०९, कर्णालीका ७८ र सुदूर पश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुला भएका छन्।

हालसम्म प्रदेश १, वाग्मती, कर्णाली र सुदूर पश्चिमका एक÷एक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १ माघ २०७७, बिहीबार १७ : ५९ बजे