कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरेका हुन ।

सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरेका थिए ।

उनले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको बताए । यसका साथै जातीय समुदायको आर्थिक अवस्था सुधार गर्नसमेत जरुरी रहेको औँल्याउँदै उनले राज्यले सबै भाषाभाषी, जातजातिको समृद्धिका निम्ति समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य लिएको जानकारी दिए ।