कोरोना बीमा वापत साढे ४ अर्ब भुक्तानी, सरकारको दायित्वमा १ अर्ब बढी

0
Shares

बीमा समितिले कोरोना बीमा वापत हालसम्म साढे ४ अर्ब भन्दा बढी भुक्तानी भएको जनाएको छ । समितिले सार्वजनिक गरेको फागुन २१ गते शुक्रबारसम्मको तथ्यांक अनुसार कोरोना बीमा दाबीवापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको हो । जसमध्ये १ अर्ब १६ करोड ३० लाख रुपैयाँ सरकारको दायित्वमा परेको छ ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा कम्पनीले तिर्नुपर्ने व्यवस्था छ । एक अर्बभन्दा माथि दुई अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनी र दुई अर्ब भन्दा माथि दुई अर्ब ५० करोडसम्म बीमा कम्पनीहरुको महाविपत्ती पुलबाट ब्यहोर्नु पर्ने छ । दुई अर्ब ५० करोडमाथि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा समितिले बहन गर्नुपर्ने हुन्छ । त्यस भन्दा माथिको दायित्वको बहन भने सरकारले बेहोर्ने व्यवस्था रहेको छ ।

समितिका अनुसार फागुन २१ गतेसम्म कारोना बीमामा ८४ हजार ८४७ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ६३९ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । दश हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार दश हजार ९४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने ४ हजार २३३ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, ४८२ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । १४ हजार ३९३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।