राष्ट्रिय बीमा कम्पनीको रोक्का शेयर कारोबार डेढ महिनापछि फुकुवा

0
Shares

नेप्सेमा साढे १ महिनाअघिबाट रोक्का रहेको राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार सोमबार देखि सुचारु भएको छ । नेप्सेको चैत १ गतेको निर्णय अनुसार २ गतेदेखि लागू हुनेगरी कम्पनीको रोक्का रहेको धितोपत्रको दोस्रो बजारको कारोबार फुकुवा गरेको हो ।

कम्पनीले रोक्का रहेको शेयर कारोबार खुला गर्नका लागि आर्थिक वर्ष २०७५/७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको कम्पनी लगइनबाट वार्षिक वित्तीय विवरण अपलोड गरी अबका दिनमा माग भएका वित्तीय विवरण पठाउने प्रतिबद्धता व्यक्त गरेको थियो । आवश्यक कागजात बुझाएर रोक्का राखिएको धितोपत्रको दोस्रो बजारको कारोबार पुर्ववत अवस्थामा सञ्चालन गरिदिन अनुरोध गर्दै कम्पनीले फागुन १९ गते पुनः पत्र पठाएपछि नेप्सेले चैत २ गतेदेखि कारोबार खुला गरेको हो ।

नेप्सेले कम्पनीको शेयर कारोबार फकुवा गरेसँगै डेढ महिनाअघिदेखि बन्धकमा रहेको लगानीकर्ताको सम्पत्ति खरीद बिक्री खुला भएको छ । कारोबारमा रोक लागेसँगै कम्पनीको महङ्गो शेयरमा लगानी गरेका लगानीकर्ताहरु कारोबार गर्नबाट बञ्चित थिए ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीले लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पेश नगरेपछि डेढ महिनाअघि अर्थात माघ १८ गतेदेखि राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

कम्पनीले कुनैपनि वार्षिक प्रतिवेदन र वित्तीय विवरण नेप्सेमा पठाएको नपाइएपछि नेप्सेले माघ २५ गते तीन दिने स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको थियो । कम्पनीले प्रष्टिकरणमा आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण सम्पन्न गर्न करिब दुई महिना लाग्ने जानकारी दिएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीहरुले नेप्सेमा प्रत्येक आर्थिक वर्षको लेखा परिक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र बुझाउनुपर्ने हुन्छ । तर कम्पनीको लामो समयदेखि लेखापरीक्षण गर्न बाँकी रहेकाले प्रतिवेदन बुझाउन सकेको छैन ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।