शिखरको एजिएम आज, बोनस अनुमोदन र हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित हुँदै

0
Shares

शिखर इन्स्योरेन्स (SICL) ले आज १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सको कार्यालय स्थित सभाहलमा साधारणसभा बिहान ११ बजे आह्वान गरिएको दुई आवको साधारण सभाले लाभांश अनुमोदन, हकप्रद तथा शेयर संरचना परिमार्जन लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक सकितिबाट प्रस्तावित चुक्ता पूँजीको २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश (कर समेत) अनुमोदन गर्नेछ ।

यसैगरी इन्स्योरेन्सले आर्थिक वर्ष २०७६।७७ को लाभांशपछि शेयरधनीहरुलाई ३० प्रतिशत लगानी थप्न लगाउने भएको छ । कम्पनीले बोनस वितरण पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव साधारण सभामा राखेको छ । हकप्रद शेयर निष्कासनसँगै शिखरको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । यस्तै चुक्ता पूँजी २ अर्ब रुपैयाँ नाघ्ने भएपछि शिखरले सोही साधारणसभाबाट अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ ।

यस्तै इन्स्योरेन्सले संस्थापकको हिस्सा घटाएर साधरण शेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ । साधारण सभामा ९ प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेर संस्थापक तथा साधारणको शेयर अनुपात ६०ः४० बाट ५१ः४९ बनाउने प्रस्ताव समेत राखेको छ ।

शेयर अनुपात परिमार्जन गर्दा शिखरको करिब १६ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६।७७ को बोनस पछि कायम पूँजीमा शेयर संरचना अनुपात रुपान्तरण गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुकक्लोज गर्ने निर्णय गरेकोले फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।