लघु बीमाको दाबी भुक्तानी २१ दिनमा गर्नुपर्ने


लघु बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले दाबी परेको २१ दिनभित्र भुक्तानी गर्नुपर्ने भएको छ । प्रतिनिधी सभा, अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विधेयक, २०७५ को दफावार छलफलले दाबी परेको २१ दिनभित्र भुक्तानी गर्नु पर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

मुल दफा ८० को उपदफा २ मा हाल व्यवस्था भएको तोकिए बमोजिम भन्ने शब्दलाई संशोधन गर्दै अर्थ समितिले लघु बीमा दाबी परेको २१ दिनभित्र भुक्तानी गर्ने व्यवस्था गरेको हो । साथै समितिले लघु बीमा नियमन शुल्क समेत घटाउने निर्णय गरेको छ । समितिले लघु बीमाको नियमनकारी सेवा प्राप्त गर्न हरेक कम्पनीले वार्षिक रुपमा आर्जन गरेको कुल बीमा शुल्कको ०.२५ प्रतिशतका दरले हुन आउने रकम मात्रै प्राधिकरणलाई बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

विधेयकको दफा ८१ मा लघुबीमा नियमन शुल्क अन्र्तगत लघु बीमाको नियमनकारी सेवा प्राप्त गर्न प्रत्येक कम्पनीले वार्षिक रुपमा आर्जन गरेको कुल बीमा शुल्कको ०.५ प्रतिशतका दरले हुन आउने रकम नियमन शुल्क वापत प्राधिकरणलाई बुझाउनु पर्ने व्यवस्था छ ।

विधेयकको दफा ४० देखि दफा ९० सम्म छलफल हुँदा नियमन शुल्क तथा लघु विमाको दावी भुक्तानी अवधि तोकिएको हो । समितिले अनिवार्य जगेडा कोष, महाविपत्ति कोष राख्नु पर्ने, दाबी भुक्तानी कोष तथा जगेडा कोष, दायीत्व भन्दा सम्पत्ति बढी हुनु पर्ने, लाभांश वितरण गर्नमा बन्देज, शेयरको बाडफाँड, विवरण पत्र तथा शेयर निष्काशन, शेयर बिक्रि गर्न, धितो बन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाउने लगायतका दफामा छलफल गरेको थियो ।

बीमा व्यवसाय सञ्चालन, बीमा करार, बीमा शुल्क, साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने, सम्पत्तिको भोग चलन गर्न नहुने, बीमा कार्यक्षेत्र, बचतको बाँडफाँट खुदसम्पत्तिको आधारमा जोखिम स्वीकार, सहायक कम्पनीमा लगानी, सम्पत्ति बेचबिखन गर्दा नियामक निकायको स्वीकृति लिनु पर्ने, लबु बीमा दाबी, लघु बीमा नियमन शुल्कबारे छलफल भएको थियो । अर्थसमितिमा बीमा विधेयकको दफावार छलफल बिहीबार पनि जारी छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।