अजोडको हकप्रद रोक बारे कुनै निर्णय भएको छैन् : अध्यक्ष सिलवाल

0
Shares

अजोड इन्स्योरेन्सले प्रस्ताव गरेको हकप्रद निष्कासनमा रोक लगाउने सम्बन्धी कुनै निर्णय भइनसकेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । कम्पनीबाट समितिलाई आधिकारिक रुपमा चिठ्ठी आए पछि मात्रै ठोेस् निर्णय गरिने नोटबजारसँगको कुराकानीमा अध्यक्ष सिलवालले बताए ।

“हकप्रद शेयर जारी गर्ने नगर्ने उनीहरुको अधिकारको कुरा हो, जारी गर्न दिने नदिने भन्ने निर्णय गर्ने हाम्रो कुरा हो ।” अध्यक्ष सिलवालले नोटबजारसँग भने, “रोक लगाउने भन्ने कुरा मौखिकले हुँदैन । रोक लगाउने भए के कारणले रोक लगाउने, जारी गर्न दिने भए के कारणले जारी गर्न दिने भन्ने कुरा छलफल कै विषय हो । त्यो छलफलमा आउनका लागि म कहाँ चिठ्ठी त आउनु पर्यो नि, त्यस पछि न हामीले निर्णय गर्ने हो ।”

 “हकप्रद जारी गर्न दिने नदिने विषय नै बल्ल उठेको छ सबै मिडियाले चाँही समितिले रोक लगाउने भन्ने समाचार प्रसार गरेका छन्” अध्यक्ष सिलवालले भने ।

 “अजोडले हकप्रद निष्काशन गर्ने सम्बन्धी आधिकारीक खबर नै आएको छैन्, साधारण सभामा प्रस्ताव लिएर जाने भन्ने मात्रै सुनेको हो, साधारण सभाले पारित गर्नुपर्यो अनि मात्रै कम्पनीले समितिमा आधिकारिक रुपमा हकप्रद निष्कासन गर्न अनुमति माग्नु पर्यो” उनले भने, समितिमा आधिकारिक रुपमा प्रस्ताव आएपछि त्यस सम्बन्धी ठोस निर्णय हुने हो ।” नोटबजारसँग अध्यक्ष सिलवालले भने ।

यता बीमा समितिबाट हकप्रद निष्कासनमा रोक लगाउने सम्बन्धी कुनै पनि कुरा नआएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले समितिबाट हकप्रदको विषयमा कुनै निर्देशन नआएको नोटबजारसँगको कुराकानीमा बताए । “समितिबाट हकप्रद सम्बन्धी कुनै पनि निर्देशन आएको छैन्, हकप्रदको प्रस्ताव साधारणसभामाले पारित गरेपछि मात्रै बीमा समितिमा अनुमतितिका लागि जान्छौँ ” सिईओ खत्रीले भने ।

पछिल्लो समय नयाँ निर्जीवन बीमा कम्पीले हकप्रद पछि पूजी वृद्धि गर्नका लागि हकप्रदको प्रस्ताव सहित साधारण सभा आह्वान गरेका छन् । अजोड इन्स्योरेन्सको सञ्चालक समितिले चैत्र १७ गते हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त प्रस्ताव आगामी वैशाख ७ गते आह्वान गरिएको कम्पनीको वार्षिक साधारणसभामा पेश हुँदै छ ।

गत सोमबार चैत १६ गते कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर ठूलो परिणाम अर्थात ८ करोड ९५ लाख बढीको शेयर कारोबार भएको थियो । अन्य दिनमा १ करोड हाराहारीमा शेयर कारोबार हुँदै आएको कम्पनीको उक्त दिन उच्च कारोबार हुनु र दुई दिन पछि न्यून कारोबार भई फेरि मूल्य बढाएर उच्च कारोबार हुनुले कम्पनीको शेयरमा भित्री कारोबार भएको आशंका गरिएको छ ।

अजोड इन्स्योरेन्सको शेयर कारोबारमा सूचना चुहाएर गरिने भित्री कारोबार ‘इन्साइडर ट्रेडिङ्ग’ भएको आशंकाका समाचार बाहिर आए पछि धितोपत्र बोर्डलाई पत्र पठाएको नोटबजारसँगको कुराकानीमा समितिका अध्यक्ष सिलवालले बताए । “हाम्रा मातहतका सबै बीमा कम्पनीहरुले शेयर कारोबार गर्दा समितिबाट स्वीकृत लिनुपर्ने हुन्छ । समितिबाट स्वीकृत नलिई गरिएको कारोबार कानुन सम्वत हुँदैन, यस बारेमा हेर्नका लागि बोर्डलाई हिजो चिठ्ठ पठाएका हौँ ।” उनले भने।

यता, नियामक निकाय धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सको शेयर कारोबारमा सूचना चुहाएर गरिने भित्री कारोबार ‘इन्साइडर ट्रेडिङ्ग’ बारे अध्ययन गर्ने भएको छ । बोर्डले यस सम्बन्धमा अध्ययन गर्न सोमवार एक उपसमिति समेत गठन गरेको छ ।

सो उपसमितिलाई कम्पनीको शेयर कारोबारमा भएको ‘इन्साइडर ट्रेडिङ्ग’ बारे अध्ययन गरि जति सक्दो चाँडो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । बोर्डद्धारा गठित उक्तसमितिले भित्री कारोबार भएको पुष्टि गरे बोर्डले नियमअनुसार आवश्यक कारवाही गर्ने समेत प्रतिवद्धता जनाएको छ ।

अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनुअघि नै शेयर मूल्य तथा उच्च कारोबार भएपछि कम्पनीको शेयर कारोबारमा ‘इन्साइडर ट्रेडिङ्ग’ भएको भन्दै अनुसन्धानको माग हुँदै आएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ चैत २०७७, मंगलबार  १३ : २९ बजे