प्रभु क्यापिटलको पहिलो सामुहिक लगानी योजना 'प्रभु सेलेक्ट फण्ड' धितोपत्र बोर्डबाट स्वीकृत

प्रभु क्यापिटलको पहिलो सामुहिक लगानी योजना 'प्रभु सेलेक्ट फण्ड' धितोपत्र बोर्डबाट स्वीकृत

प्रभु म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो ।

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ जसमा १० करोड युनिट रहनेछन् ।

प्रभु क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । कुल १० करोड युनिट मध्ये १.५ करोड युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन भने बाँकी ८.५ करोड युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गर्ने तयारी क्यापिटलले गरेको छ ।

प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने कम्पनीले जनाएको छ । यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन ।

७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणा सम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ । आफुसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताहरुले ढुक्कसँग यो सामुहिक लगानी योजनामा लगानी गर्न सक्नेछन ।

प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पूँजी बजारमा उपलब्ध सबैखाले श्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ । हालको अवस्थामा पनि क्यापिटलले विभिन्न श्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलबार १८ : १५ बजे