अस्थीर राजनीति र कोरोनाको चपेटामा शेयर बजार, नेप्से सूचक १८ अंकले घट्यो


कोरोनाको दोस्रो लहरको बढ्दो संक्रमका कारण अधिकांस देश निषेधाज्ञामा रहेको अवस्थामा देखिएको राजनीतिक अस्थीरताले धितोपत्र बजारका लगानीकर्ताको मनोबल कमजोर भएको छ । सोमबार हालको सरकारले निरन्तरता पाउछ वा नयाँ सरकार निर्माण हुन्छ भन्ने अन्योलताले शेयर बजारमा नकारात्मक असर गरेको हो ।

कोरोनाको दोस्रो लहरको संक्रमण नियन्त्रणका लागि भएको निषेधाज्ञामा पनि कारोबार भएको अधितोपत्र बजार गत साताका पछिल्ला दिन देखि निरन्तर घट्न थालेको धितोपत्र बजार यो साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकले घटेको छ । राजनीतिक वातावरणमा देखिएको अस्थीरता संगै निषेधाज्ञाले अर्थतन्त्रमा पार्न सक्ने असरको विश्लेषण गर्दै लगानीकर्ताले लगानी झिक्न थालेपनि बजार घट्दो क्रममा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार हुने साताको अन्तिम दिन गत बिहीबार १२ अंक भन्दा धेरैले घटेको नेप्से सूचक आइतबार १८ अंकले घटेको हो । नेप्सेमा कारोबार भएका अधिकासं कम्पनीको शेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक घटेको हो । आइतबार नेप्से सूचक १८ अंकले घट्दा बजारको आकार पनि २६ खर्ब रुपैयाँले साँघुरिएको छ । आइतबार मात्र लगानीकर्ताको सम्पत्ती २६ अर्ब रुपैयाँले घटेको छ । त्यतीमात्र नै कारोबार रकम पनि घटेर ६ अर्ब १४ करोड रुपैयाँमा झरेको छ ।

आइतबार कारोबार सुरु हुँदा २६३७.१३ अंकमा रहेको नेप्से १८.५६ अंकले घटेर २६१८.५६ अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका अधिकासं कम्पनीको शेयर मूल्य घटेपनि सेन्सेटिभ इण्डेक्स पनि २.३१ अंकले घटेको छ ।

बिहीबार नेप्सेको कुल बजार पुँजी करण ३६ खर्ब ५८ अर्ब रुपैयाँमा रहेकोमा २६ अर्ब ले घटेर आइतबार ३६ खर्ब ३२ अर्ब रुपैयाँमा झरेको छ । बजार सूचक घटेपछि कम्पनीको शेयर मूल्य घट्ने भएकाले कुल बजार पूँजीकरणमा पनि त्यसले असर गर्छ ।

आइतबार नेप्सेमा कारोबार भएका सबै समुहगत सूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह १४८ अंक घटेको छ। लघुवित्त समूह ९८ अंक घटेको छ।
नेप्सेमा २१९ कम्पनीको ७५ हजार ४६ करोबारबाट ६ अर्ब १४ करोड रुपैयाँ बरावरको एक करोड २७ लाख २८ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । यो कारोबार रकम बिहीबार तुलनामा थोरै हो ।

आइतबार समता घरेलु लघुवित्त र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । महिला लघुवित्त, बिशाल बजार कम्पनी, सिंगटी हाइड्रोपावर र युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।