एशियन लाइफको बीमा कोषको आकार २६% ले बढ्यो, खुद नाफा ३९ % ले वृद्धि

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आवको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ४८.१० प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ।

कम्पनीले चैत मसान्तसम्ममा ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २६.१७ प्रतिशतले बढेर २५ अर्ब ४२ करोड ८ लाख रुपैयाँको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा २० अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।

चैत मसान्तसमा एशियन लाइफले १८ करोड २१ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन समीक्षा अवधिको तुलनामा ३९.३१ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ नाफा खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.०८ रुपैयाँ छ । जगेडा कोषमा ७३ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४०.८४ रुपैयाँ छ ।

कम्पनीले चैतमसान्तसम्म लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ४२ करोड र बीमालेखको धितोमा कर्जाबाट १३ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा अभिकर्ता कमिशन वापत ५६ करोड १३ लाख रुपैयाँ खर्चेको छ ।

कम्पनीले चालु आवको ९ महिनाको अवधिसम्म ४ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म २९ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, कम्पनीले हालसम्म ३६ लाख ६ हजार ४६६ वटा बीमालेख जारी गरेको छ । कम्पनीले ७ हजार ६८३ बीमा दावी वापत २ अर्ब ११ करोड ४२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने १३७ बीमा दाबी वापत ४४ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।