लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको शेयर मूल्य समायोजन 

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  शुक्रबार लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य  समायोजन भएको छ ।
 
नेप्सेका अनुसार  सिद्धार्थ इन्स्योरेन्सले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको हो । त्यस्तै लुम्बिनी जनरलले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको हो । 
 
बोनस समायोजनपछि नेप्सेले  सिद्धार्थ इन्स्योरेन्सको प्रतिकित्ता १ हजार  २०५ रुपैयाँ  र लुम्बिनी जनरलको शेयरमूल्य प्रतिकित्ता ७९१ रुपैयाँ  कायम गरेको छ ।
 
नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ३५० रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको बिहीवार कायम अन्तिम शेयरमूल्य  ८३१ रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको  हो ।
 
सिद्धार्थ इन्स्योरेन्सले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ २८ गते १९औं वार्षिक साधारण सभा आव्हान गरेको छ  । सभा सिद्धार्थ इन्स्योरेन्स भवन बबरमहलमा भर्चुअल माध्यमबाट हुने छ । 
 
त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको प्रस्ताव पारित गर्नका लागि जेठ २८ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा अपरान्ह ४ बजे कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट हुने छ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।