कोरोना महामारीका कारण भेरी बबई आयोजना प्रभावित

कोरोना महामारीका कारण भेरी बबई आयोजना प्रभावित

कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ ।

सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जीनियर (सिडिई) ईश्वरीप्रसाद तिवारीले निषेधाज्ञाकै बीच बाँध र विद्युत गृहको निर्माणकार्य सञ्चालन भए पनि मजदुर र सामग्रीको अभाव रहेको बताए ।

“राष्ट्रिय गौरवको आयोजनाको काम नरोक्ने सरकारको नीतिअनुसार जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर हेडवक्र्स (बाँध) र पावरहाउस (विद्युतगृह्र) जस्ता संरचनाको काम रोकिएको छैन”, उनले भने, “ठेकेदारले निर्माण सामग्री र मजदुरको अभाव देखाइरहेका छन्, हामीले काम नरोकिने गरी सामग्री व्यवस्थापन गर्न आवश्यक पहल गरिरहेका छौँ ।”

कोरोना महामारी फैलिएपछि झण्डै १०० मजदुर कार्यरत थिए । हाल मजदुरको स¬ङ्ख्या घटेर ६० मा सीमित रहेको बताइएको छ । सिडिई तिवारीले आयोजना आसपासमा पर्ने जहरे, रामघाटलगायतका स्थानमा कोरोना सङ्क्रमण फैलिएपछि मजदुर काममा आउन छाडेको बताउनुभयो ।

लामो समयदेखिको निषेधाज्ञाका कारण बजारमा सिमेन्ट, रड (सरिया) को अभाव छ । निर्माण सामग्री उत्पादक कम्पनी बन्द हुनु र बजारमा मोटो तथा गुणस्तरीय सरियाको अभाव रहेकाले आयोजनाको काम प्रभावित हुने समस्या देखिएको छ ।

पहिलो चरणको सुरुङ ९टनेल० निर्माणपछि आयोजनाले दोस्रो चरणको काम अघि बढाएको हो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९÷८० मा दोस्रो चरणअन्तर्गतका बाँध, विद्युत्गृहलगायतका संरचनाको निर्माण सम्पन्न गरिसक्नुपर्छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच विसं २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेर आयोजनाले प्रशंसा बटुलेको थियो ।

भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको बाँध ९ब्यारेज० निर्माण गर्न लागिएको हो । एक सय १४ मिटर लामो र १४ मिटर अग्लो बाँधको निर्माण हुँदैछ । दोस्रो चरणका संरचना निर्माणमा रु छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने बताइएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत सोही नगरपालिकाको हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेठ २०७८, बिहीबार १६ : ५६ बजे