यूनियन लाइफको साढे ६४ करोडको आईपीओ असार २४ गतेदेखि खुल्ने

0
Shares

यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि साढे ६४ करोडको आईपीको बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएकोे हो। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता संस्थाका कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।

उक्त आइपीओमा छिटोमा असार २४ गतेदेखि असार २८ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड २५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको छ । कम्पनीले ३४ हजार ८४० वटा बीमालेख जारी गरेको छ ।

इन्स्योरेन्सका देशभरिका २०२ मार्फत जीवन बीमा सेवा दिँदै आएको छ । युनियन लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हो । कम्पनीमा ५० हजार व्यक्तिगत अभिकर्ताहरु रहेका छन् । जसमध्ये १४ हजार अभिकर्ता सक्रिय छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।