मेगा बैंकको कामु सीईओमा महेश ढकाल

0
Shares

मेगा बैंक नेपाल लिमिटेडले महेश शर्मा ढकाललाई कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको पुस २५ गते सोमबार सम्पन्न सञ्चालक समिति बैठकले पुस २५ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ढकाललाई दिएको बैंकका मानव संसाधन विभाग प्रमुख राजेन्द्र सुवेदीले जानकारी दिए ।

यसअघि उनी ग्लोबल आइएमई बैंकमा सिनियर डेपुटी सीइओ थिए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले मर्ज भएर एकीकृत कारोबार गर्दा उनी स्वेच्छिक अवकाश लिएर ग्लोबल आइएमई बैंकबाट बाहिरिएका थिए । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरमा रहेका छन् । इन्भेष्टमेन्ट बैंकसँग मर्जर पश्चात पनि उनी सिनियर डेपुटी सीइओ बन्नेछन् । 

उनले ढकालले बैंकिङ क्षेत्रमा अढाई दशक बिताईसकेका छन् । नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका उनले कमर्स एण्ड ट्रष्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंकमा पनि काम गरिसकेका छन् । मेगा बैंकले तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर तथा प्राप्ति गर्दा ढकाल टुरिजममा प्रमुख कार्यकारी अधिकृत थिए ।

ढकाल चार्टड एकाउन्टेन्ट समेत हुन् । ४ वर्षअघि मेगा बैंकको जागिर छोडेर उनी ग्लोबल आईएमई बैंक गएका थिए । मेगामा तेश्रो बरियतामा रहेका उनी त्यसपछि ग्लोबल आईएमई बैंकमा डेपुटी सीइओका रुपमा गएका थिए । ग्लोबलमा उनले केहि समय कामु सीइओको जिम्मेवारी पनि पाए । पछि रत्नराज बज्राचार्य सीइओ भएर आएपछि डेपुटी सीइओकै रुपमा उनी कार्यरत रहेका थिए । करिब ४ वर्षपछि उनी मेगा नै फर्किएका छन् ।

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का पूर्व पार्षद् समेत रहेका ढकाललाई बैंकिङमा अब्बल मानिन्छ । विशेषगरी पोष्ट मर्जरमा आउने सम्भावित समस्याहरुलाई कुशलतापुर्वक समाधान गर्नसक्ने क्षमता उनीमा रहेको छ । सोही कारण मेगाले ढकाललाई डेपुटी सीइओको रुपमा पुनः बैंक भित्र्याएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।