साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर कारोबार रोकियो

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर कारोबार रोकिएको छ ।

धितोपत्रको मूल्यमा प्रभाव पर्ने गरी कम्पनीले लाभांश सम्बन्धी निर्णय सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयर कारोबार रोक्का गरेको हो ।

यस्तै कारोबार रोक्कासँगै तीन कारोबार दिनभित्र कम्पनीसँग स्पष्टीकरण पेश गर्न समेत निर्देशन नेप्सेले दिएको छ । नेप्सेले के कति कारणबाट लाभांशको सूचना समयमा नै जानकारी दिन नसकेको हो त्यसको जानकारी गराउन भनिएको छ ।

नेप्सेको सूचनामा भनिएको छ, “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप मिति २०७२।०९।२८ को निर्णयानुसार उक्त कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्णयानुसार अनुरोध छ ।”

कम्पनीले पुस २८ गते बिहीबार बिहान ८ः३० बजे सञ्चालक समितिको बैठक बसेर गरेको लाभांश प्रस्तावको निर्णय कारोबार समयअघि नेप्सेमा उपलब्ध गर्नुपर्नेमा कम्पनीले ११ः१३ बजे मात्र नेप्सेमा पठाएको थियो ।

धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थामा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।