विदेशी विनिमय सञ्चिति असारको तुलनाको ६.३% बढ्यो, कुल सञ्चिति १३ खर्ब

0
Shares

मुलुकको कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब रुपैयाँ नाघेको छ । चालु आवको पाँच महिनामा कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि हुँदा १२ खर्ब माथि पुगेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । कार्तिकको तुलनामा कुल विदेशी विनिमय सञ्चिति ७६ अर्ब ७६ करोड रूपैयाँले वृद्दि भएको हो । 

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुसँग १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । २०७९ असार मसान्तमा नेपाल राष्ट्र बैंकमा १० खर्ब ५६ अर्ब ३९ करोड र नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।

विसं २०७९ असार मसान्तको तुलनामा राष्ट्र बैंकमा ८२ अर्ब ८३ करोड रुपैयाँ अर्थात ७.८ प्रतिशतले वृद्धि भएको हो । बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति भने २०७९ असार मसान्तको तुलनामा ६ अर्ब ७ करोड रुपैयाँ अर्थात ३.८ प्रतिशतले कमी आएको हो ।

२०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्याङ्क छ ।

विसं २०७९ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादनको २६.६ प्रतिशत, कुल आयातको ७२.६ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग २३.० प्रतिशत अनुपातमा रहेका छन् । असार मसान्तमा यस्तो अनुपातहरु क्रमशः २५.१० प्रतिशत, ५७.८० प्रतिशत र २२.१० प्रतिशत रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।