नेप्सेमा सूचीकृतमध्ये आधाले सम्पन्न गर्न सकेनन् पुस मसान्तभित्र साधारण सभा

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा सूचीकृत कम्पनीहरुमध्ये झण्डै आधा कम्पनीहरु पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न असफल भएका छन् ।

नेप्सेमा हाल करिब २१ दर्जन कम्पनी सूचीकृत रहेकोमा ११ दर्जनभन्दा धेरै कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न नसकेका हुन् । नेप्सेले राष्ट्र बैंकलाई दिएको तथ्याङ्क अनुासर मंसिर मसान्तसम्म २४८ कम्पनी सूचीकृत छन् ।

यसरी समयमा नै साधारण सभा सम्पन्न गर्न नसक्नेहरुमा ४ दर्जन धेरै लघुवित्त कम्पनीहरु छन् । त्यसपछि धेरै जलविद्युत कम्पनी छन् । तीन दर्जन बढी जलविद्युत कम्पनीले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न सकेका छैनन् । पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्नेहरुमा वाणिज्य बैंक २, विकास बैंक १०, फाइनान्स ६, लघुवित्त ५३, जलविद्युत कम्पनी ३८, निर्जीवन बीमा कम्पनी ११, जीवन बीमा कम्पनी ६, होटल १, अन्य १, ब्यापारका ४, उत्पादनमुलक १ र लगानीमा सूचीकृत १ गरी कुल १३४ कम्पनीले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकेका हुन् । ब्यापारमा सूचीकृत कुनैपनि कम्पनीले साधारण सभा सम्पन्न गर्न सकेनन् ।कतिपय कम्पनीको अवस्था सूचीकृत रहेपनि नियमित सम्पर्कमा नरहेका र डिलिस्ट पनि नभइसकेको अवस्थामा छन् ।

पुसभित्र मसान्त अर्थात आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा २४ वाणिज्य बैंक, ६ विकास बैंक, ९ फाइनान्स कम्पनी, ७ लघुवित्त, २९ जलविद्युत कम्पनी, ६ उत्पादनमुलक कम्पनी, ५ निर्जीवन बीमा कम्पनी, ५ जीवन बीमा कम्पनी, ३ लगानी, ३ होटल, २ अन्यमा सूचीकृत गरी कुल ९९ कम्पनीले भने नियम अनुसार पुसभित्रै साधारण सभा सम्पन्न गरेका छन् ।

पब्लिक कम्पनीमा सूचीकृत कम्पनीहरुले हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । यस समयमा साधारण सभा सम्पनन नगर्ने कम्पनीहरुलाई कम्पनी रजिष्ट्रारको कार्यालयले जरीवाना समेत तिराउने गर्दछ । तर साधारण सभाबाट निर्वाचित भई कम्पनी सञ्चालनको जिम्मेवारी लिएर सञ्चालक बनेकाहरुले तोकिएको समयभित्र साधारण सभा सम्पन्न गर्नेगरी काम गर्नुभन्दा भत्ता पचाएर जरीवाना तिर्न तयार हुँदा धेरै कम्पनीहरु तोकिएको समयमा एजीएम सम्पन्न गर्न असफल भएका हुन् ।

अर्कोतर्फ बजार सञ्चालनको फ्रन्टलाइन रेगुलेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हरेक त्रैमासमा गर्ने कम्पनी वर्गिकरणको सूची प्रकाशन गर्ने गरेको छ । यसरी दोस्रो त्रैमास अर्थात पुस मसान्तभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीलाई नेप्सेले गर्ने वर्गिकरणको सूचीमा ‘ए’ वर्गमा राख्दैन । अर्थात तोकिएको समयभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनी खराब वर्ग अर्थात ‘ए’ भन्दा कमजोर मानिने ‘बि’ ‘जी’ ‘जेड’ वर्गतिर समेटिने गर्दछन् ।

कम्पनीहरु अझैपनि सेयरधनी र आफ्नो साख वृद्धि गर्न पुसभित्रै साधारण सभा सम्पन्न गर्नबाट चुक्दै आएका छन् । अन्तर्राष्ट्रिय अभ्यासमा कतिपय कम्पनीहरुले साधारण सभाको मिति नै तोकेर हरेक वर्ष एकैदिन साधारण सभा सम्पन्न गर्ने गरेको समेत भेटिन्छ । नेपालमा भने यस्तो अभ्यास हालसम्म एउटा पनि कम्पनीमा देख्न पाइएको छैन । धेरै कम्पनीहरुकमा बाह्य लेखापरीक्षण कार्यमा भएको ढिलाइले लाभांश घोषणामा ढिलाइ हुँदा पुसभित्र साधारण सभा सम्पन्न गर्न नसकेको जानकारी दिँदै चैतभित्रै साधारण सभा सम्पन्न गर्ने जनाएका छन् ।

उता नयाँ लेखामान प्रणाली अनुरुप एनएफआरएस वित्तीय विवरण तयार गर्नुपर्ने, नेपाल बीमा प्राधिरकणको फ्यूचर बोनस प्रोभिजनिङ्ग र एक्चुअरी भ्यालुएसनको कठिनाइका कारण पनि बीमा कम्पनीहरुको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सम्पन्न गर्न कठिनाई हुँदै आएको बीमकहरु बताउँछन् ।

दुई वाणिज्य बैंकले समयमा नै सभा सकेनन्

नेप्सेमा सूचीकृतमध्ये २६ मध्ये २४ बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गर्दा २ बैंकले भने पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न सकेनन् । पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने बैंकहरुमा कृषि विकास बैंक र सनराइज बैंक रहेका छन् ।  गत आवको नाफाबाट चार वाणिज्य बैंक बाहेक २२ वाणिज्य बैंकले लाभांश वितरण गरेका छन् । लक्ष्मी, सनराइन, माछापुच्छ्रे र एनआईसी एशिया बैंकले लाभांश वितरण गरेनन् ।

१० विकास बैंकले पुसभित्र सकाउन सकेनन् साधारण सभा,६ ले मात्रै सम्पन्न गरे

अधिकांश वाणिज्य बैंकहरुले पुसभित्र साधारण सभा सम्पन्न गर्न असफल बनेका छन् । सञ्चालनमा रहेका १६ विकास बैंकहरुमध्ये ६ वटाले मात्रै पुसभित्र साधारण सभा सम्पन्न गरेका छन् । १० वटा बैंकले पुसभित्र साधारण सभा सम्पन्न गर्न सकेनन् ।  ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकले पुसभित्र साधारण सभा सम्पन्न गर्न सकेनन् ।

६ फाइनान्स पुसभित्रै साधारण सभा सम्पन्न गर्न असफल

सूचीकृत १६ वित्त (फाइनान्स) कम्पनीमध्ये दश वटाले गत आव २०७८।७९ को साधारण सभा पुसभित्रै सम्पन्न गरेका छन् । पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने फाइनान्सहरुमा जानकी फाइनान्स, रिलायन्स फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स, गार्खाज फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स रहेका छन् ।  क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स समस्याग्रत फाइनान्स हो भने बाँकी पाँच कम्पनीहरुको भने नेप्सेमा नियमित सेयर कारोबार हुँदै आइरहेको छ ।

साठीमध्ये ७ लघुवित्तले मात्रै पुसभित्र सकाए साधारण सभा

नेप्सेमा सूचीकृत ६० लघुवित्तमध्ये ७ लघुवित्त कम्पनीहरुले गत आवको साधारण सभा सम्पन्न गरेका छन् । ५३ लघुवित्तले साधारण सभा सम्पन्न गर्न सकेनन् । पुस भित्र साधारण सभा सम्पनन गर्ने लघुवित्तहरुमा सिवाईसी नेपाल लघुवित्त, फरवार्ड, मिर्मिरे, फस्ट माइक्रोफाइनान्स, साधना, आरएसडिसी र गुराँस लघुवित्त रहेका छन् ।

चालु आवको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुमा जाल्पा लघुवित्त, महिला, आँधिखोला, साना किसान, आरएमडिसी, छिमेक, महुली, नेरुडे, स्वरोजगार, डिप्रोक्स, मेरो माइक्रोफाइनान्स, निर्धन उत्थान, मिथिला, नेशनल माइक्रोफाइनान्स, एनएमबि लघुवित्त, जीवन विकास, स्वाभिमान, सबैको, सपोर्ट माइक्राेफाइनान्सले पुसभित्र साधारण सभा सकाउन सकेनन् ।

यस्तै उन्नति सहकार्य, इन्फिनिटी, ग्लोबल आईएमई, लक्ष्मी, आशा, जनउत्थान, समीट, समता घरेलु, स्वावलम्बन, किसान, विजय, नाडेप, आरम्भ चौतारी, सूर्योदय वोमी, सिभिल, गणपति, नयाँ सारथी, मनकामना स्मार्ट, कालिका, एनआईसी एशिया, युनिक नेपाल लघुवित्त, सामुदायिक, मानुषी, समाज, ग्रामीण विकास, वीन, राष्ट्र उत्थान, नेष्डो समृद्ध, उपकार, आदर्श, अभियान, धौलागिरी, श्रृजनशील र खप्तड लघुवित्तले साधारण सभा सम्पन्न गर्न असमर्थ रहेका हुन् ।

३८ जलविद्युत कम्पनी पुसभित्र साधारण सभा सम्पन्न गर्न असमर्थ

नेप्सेमा सूचीकृत ६७ मध्ये ३८ जलविद्युत कम्पनीले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न सकेनन् । २९ कम्पनीले भने पुसभित्र गत आवको साधारण सभा सम्पन्न गरेका छन् ।

पुसभित्रै साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुमा रिडी पावर, अरुण भ्याली, अपि पावर, ङादी ग्रुप पावर, नेशनल हाइड्रोपावर, साञ्जेन जलविद्युत, ग्रीन लाइफ, खानीखोला हाइड्रोपावर, न्यादी हाइड्रोपावर, घलेम्दी, रसुवागढी, बरुण, पञ्चकन्या माई, छ्याङ्दी, जोशी, युनाइटेड मोदी, आँखुखोला, युनिभर्सल पावरले पुसभित्र साधारण सभा सकाउन सकेनन् ।

यस्तै अपर तामाकोशी, लिवर्टी इनर्जी, शिवश्री, हिमाल दोलखा, सिइडिबी हाइड्रोपावर, सिंगटी, साहस उर्जा, मध्य भोटेकोशी, बुद्धभुमी नेपाल हाइड्रोपावर, बलेफी, रिभर फल्स, ग्रीन भेञ्चर, दोर्दीखोला, हिमालयन हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, पिपल्स पावर, सिक्लेस, पिपुल्स हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, र बाराही हाइड्रोपावर पुसभित्र साधारण सभा सम्पन्न गर्न असमर्थ भएका हुन् ।

नेप्सेमा सूचीकृत ११ निर्जीवन बीमा कम्पनीले पुसभित्र सकेनन् साधारण सभा

गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक साधारण सभा ११ निर्जीवन बीमा कम्पनीले पुसभित्र सम्पन्न गर्न सकेका छैनन् । बीमा समितिले लाागू गरेको नेपाल वित्तीयमान प्रणाली अनुरुपको प्रतिवेदन (एनएफआरएस) तयार गर्न समय लागेपछि बीमा कम्पनीहरु समयमा नै साधारण सभा सम्पन्न गर्न असमर्थ रहेका हुन् ।

साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुमा शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी पुसभित्र साधारण सभा सम्पन्न गर्न असफल भएका हुन् ।

पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने यी हुन् ६ जीवन बीमा कम्पनी

नेप्सेमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीमध्ये ५ कम्पनीले गत आवको साधारण सभा होइन अघिल्लो आर्थिक वर्ष २०७७।७८ को साधारण सभा गर्न पनि भ्याएका छन् भने ६ वटाले सकेनन् ।

पुसभित्र साधारण सभा सम्पन्न नगर्ने कम्पनीहरुमा युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, एलआईसी, सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सले पुसभित्र साधारण सभा सम्पन्न गर्न नसकेका हुन् । 

जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनका कारण सूचीकृत अन्य कम्पनीको तुलनामा एक वर्ष साधारण सभामा ढिलाई हुने गरेको छ । देशभित्र प्रयाप्त एक्चुरी भ्यालुयसन गर्ने जनशक्ति नहुँदा कम्पनीहरुको साधारण सभामा ढिलाइ हुने गरेको छ ।

उत्पादनमुलक समुहमा सूचीकृत श्रीराम सुगर मिल्स बाहेक सबैले साधारण सभा सकाए

नेप्सेमा उत्पादनमुलक समुहका सूचीकृत रहेका ७ कम्पनीमध्ये श्रीराम सुगर मिल्स बाहेक सबै ६ वटा कम्पनीले साधारण सभा सम्पन्न गरेका छन् ।
युनिलिभर नेपाल, हिमालयन, डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल ल्यूव आयल, बोटलर्स नेपाल (तराइ) र बोटलर्स नेपाल (बालाजु) ले पुसभित्रै साधारण सभा सम्पन्न गरेका हुन् । आर्थिक संकटले धरासायी भएपछि श्रीराम सुगर मिल्स भने स्थायी रुपमा मिल बन्द गर्ने घोषणा गरेका कारण कारण कम्पनीले गत आवको साधारण सभा सम्पन्न गरेको छैन ।

उत्पादनमुलक कम्पनीमा सूचीकृत रहेर पनि धेरै कम्पनीहरु सेयर बजारबाट बेपत्ता छन् । गोरखाकाली रबर उद्योग, नेपाल खाद्य उद्योग, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग, नेपाल बनस्पति ध्यु उद्योग, बुटवल स्पिनिङ्ग मिल, फ्यूर हिमालयन, हिरिसिद्धी इँटा टायल, ज्योति स्पिनिङ्ग मिल, रघुपति जुट मिल, श्री भृकुटी पल्स एण्ड पेपर, अरुण बनस्पति उद्योग र विराट शु उद्योग शेयर बजारबाट लगानीकर्ताको लगानी डुवाएर बेपत्ता भएका हुन् । यी कम्पनीहरुको साधारण सभा सम्पन्न गर्ने त परै जाओस् यर्थाथ अवस्था कस्तो छ भन्ने समेत फ्रन्टलाइन रेगुलेटर नेप्सेलाई जानकारी छैन ।

चार होटलले सकाए साधारण सभा, याक एण्ड यति बेपत्ता

नेप्सेमा सूचीकृत पाँच होटल कम्पनीमध्ये सोल्टी, चन्द्रागिरी हिल्स, ओरियन्टल र तारागाउँ रिजेन्सी होटलले गत आवको साधारण सभा सम्पनन गरेका छन् । चन्द्रागिरी बाहेक सबै होटलले लगानीकर्तालाई लाभांश दिए । नेप्समा सूचीकृत भएपनि याक एण्ड यति होटल लगानीकर्ताहरुको नजरमा वर्षौदेखि बेपत्ता छ ।

विश्व माहामारी कोरोना भाइरस संक्रमणका कारण पर्यटकको चहलपहल बढेपछि व्यवसायमा सुधार हुँदा धेरै होटलको आम्दानीमा सुधार आएपछि लाभांश वितरण गरेका हुन् ।

ब्यापारका चारवटै कम्पनीले गरेनन् साधारण सभा

नेप्सेको ब्यापारमा सूचीकृत ४ मध्ये कुनैपनि कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को साधारण सभा सम्पन्न गर्न सकेनन् ।

सूचीकृत ४ मध्ये नेशनल ट्रेडिङ र बिशाल बजार कम्पनी गरी दुई कम्पनीको नेप्सेमा सेयर कारोबार हुँदै आएको छ भने नेपाल ट्रेडिङ लिमिटेड र नेपाल वेलफेयर कम्पनी लिमिटेड पनि सेयर बजारबाट वेपत्ता छन् । यी दुई कम्पनीले वर्षैदेखि साधारण सभा सम्पन्न गरेका छैनन् ।

लगानीमा सूचीकृत तीन कम्पनीले सकाए एजीएम

लगानीमा सूचीकृतमध्ये चारमध्ये तीन कम्पनीले पुसभित्र साधारण सभा सम्पन्न गरेका छन् । नागरिक लगानी कोष भने लाभांश प्रस्ताव र साधारण सभा दुबै गर्न असफल रह्यो ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी (एचआईडिसिएल) ले पुसभित्र साधारण सभा सम्पन्न गरेर लाभांश अनुमेदन गरेका हुन् ।

अन्यमा सूचीकृत एनआरआईसीले मात्र सकाएन

अन्य उपसमुहमा सूचीकृत चार कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी) ले मात्र समयमा नै साधारण सभा सम्पन्न गर्न सकेन । एनआरआईसीले गत आवको लाभांश समेत प्रस्ताव गरेको छैन । यस अवधिमा नेपाल दूरसञ्चार कम्पनी, र इमर्जिङ्ग नेपालले साधारण सभा सम्पन्न गरेका हुन् । इमर्जिङ्ग नेपालले बिना लाभांश सभा सम्पन्न गरेको हो ।

नेपाल फिल्म डेभलपमेन्ट कम्पनीले भने गर्न सकेनन् । नेपाल फिल्म डेभलपमेन्ट कम्पनी सेयर बजारबाट बेपत्ता छ । यस कम्पनीले वर्षौदेखि साधारण सभा सम्पन्न गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।