एक लाख ७४ हजार जनाले पाउने आईपीओ बिक्री आजदेखि खुल्यो

0
Shares

एक लाख ७४ हजार ३०० जनाले पाउने आईपीओको आजदेखि बिक्री खुला भएको छ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज (माघ ९ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको कुल २१ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ । त्यसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले  १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् ।

आईपीओको निष्कासन माघ १२ गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ताले अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सीमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यवसासिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो । यद्यपि, कोभिड र बाढी पहिरोका कारण सो सफल हुन नसकेको कम्पनीले बताएको छ । कम्पनीले २०७३ चैत १७ गते विद्युत उत्पादन गर्ने अनुमति प्राप्त गरेको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।