नेशनल माइक्रोफाइनान्सको लाभांश घोषणासँगै रोकियो सेयर कारोबार

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणासँगै नेप्सेमा सेयर कारोबार रोक्का भएको छ ।

माघ ९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८–७९ बाट सेयरधनीलाई चुक्ता पुँजीको ३८.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले ९ बजे बसेको बैठकले गरेको लाभांश प्रस्तावको निर्णय कारोबार समय अर्थात ११ः०४ मा मात्र पठाएपछि नेप्सेले माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले सेयर कारोबार रोक्दै सेयरमूल्यमा प्रभाव पार्ने लाभांश घोषणा सम्बन्धी निर्णय कारोबार समयमा पठाउनुको कारणबारे ३ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ । के कति कारणले यस्तो हुन पुगेको हो कारण खुलाई तीनदिन भित्र स्पष्टिकरण समेत पेश गर्न नेप्सेले निर्देशन दिएको छ ।

धितोपत्र सूचीकरण विनियमावली बमोजिम सेयरमूल्यमा प्रभाव पार्ने निर्णय कारोबार समयभन्दा अगावै सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही नियम पालन नगर्दा संस्थाको सेयर कारोबार रोक्का भएको हो ।

संस्थाको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण हुनेछ । मर्जरको छुट सुविधा अन्तर्गत संस्थाले कर प्रयोजनाका लागि नगद लाभांश भने छुट्याएको छैन । लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गरी एकीकृत कारोबार गरेकाले बोनसमा कर लाग्दैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।