मौद्रिक नीतिमा लगानीकर्ताहरुको सुझाव: सेयर जोखिम भार घटाउँदै १२ करोडको कर्जा सीमा हटाइयोस्

0
Shares

सेयर बजारमा क्रियाशिल सेयर लगानीकर्ताहरुको तीन संघ संस्थाहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत जोखिम भारित औसतलाई घटाएर अघिल्लो नीतिले निर्धारण गरेको १२ करोडको कर्जा सीमा हटाउन सुझाव दिएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरुले राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग बालुवाटारमा ४ बुँदे सुझाव पेश गरेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकालले विद्यमान १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि लगानीकर्ताहरुले सुझाव दिएको बताए ।

यस्तै सुझावमा सेयरको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न पनि सुझाव पेश गरिएको छ । आ.व. २०७९–८० को असार १ गतेदेखि सेयर कर्जाको जोखिमभार वृद्धि गरे १५० प्रतिशत पुर्‍याएको थियो ।

लगानीकर्ताहरुको संघहरुले पेश गरेको सुझावमा तरलता समस्या र विद्यमान व्याजदरले लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अङ्गमा कायम गर्न माग गरिएको छ । यस्तै तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था मौद्रिक नीतिको समीक्षामा समेट्न अनुरोध गरिएको छ ।

वर्तमान समयमा नेपाल राष्ट्र बैंकबाट पूँजीबजारलाई तत्काल माथिका बुँदाहरूलाई सम्बोधन गर्दा खस्कँदो अवस्थामा रहेको पूँजीबजारलाई पुनरुत्थान गर्न सधाउन पुग्ने लगानीकर्ताहरुको विश्वास रहेको छ ।  “पूँजीबजार देशको अर्थतन्त्रको ऐना हो” भन्ने मान्यतालाई आत्मसात गर्दै लगानीकर्ताहरूले सेयर बजारमा लगानी गरेतापनि राज्यबाट उचित संरक्षण र सुरक्षाको प्रत्याभुति नपाएको उनीहरुले बताएका छन् ।

राज्यको पहलकदमी नभएकै कारणले ३२ सय अङ्गभन्दा माथि पुगेको सेयर बजारको परिसूचक (नेप्से) हाल २०९० को हाराहारीमा घट्न पुगेको छ । यस्तै सेयर बजारको पूँजीकरण करिब ४५ खर्ब भन्दा बढी पुगिसकेको अवस्थामा हाल आएर ३० खर्बको तल्लो अङ्गमा झरिसकेको अवस्था छ । बजार पुँजीकरणमा १५ खर्बको नोक्सानीभई आफ्नो सम्पत्ति घट्दा लगानीकर्ताका मनोबल गिर्न गई मर्माहत र दुःखी हुँदै आइरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।