शुभम् पावरको आईपीओ भर्ने आज अन्तिम दिन

0
Shares

शुभम् पावर लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । माघ १८ गते देखि खुला भएको उक्त आईपीओमा आज २२ गते आइतबार कार्यालय समयभित्र आवेदन दिनइसक्नुपर्नेछ ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण तथा सञ्चालन गरेको अनलाइन सफ्टवेयर मेरो सेयर वेवसाइट, मेरो सेयर मोबाइल एप प्रयोग गरी आईपीओ भर्न सक्नेछन् ।

सो सुविधा नभएका लगानीकर्ताहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता देखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणहरुमा प्रति सेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ । ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुका लागि बाँडफाँड भैसकेको छ । यस्तै २९ हजार ३० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८२२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार बिहान १०स्२६ बजेसम्म कम्पनीको आईपीओमा ११ लाख ३४ हजार ३७४ वटा आवेदन मार्फत १ अर्ब २६ करोड ७८ लाख ६१ हजार मूल्यको १ करोड २६ लाख ७८ हजार ६१० कित्ताको माग परेको छ । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको २६.३१ गुणा बढी हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ मा ९९० किलोवाट जलविद्युत उत्पादन गर्ने उद्देश्यका साथ पिलुवा खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ ।

प्रतिमेगावाट लागत १४ करोड ५४ लाखका दरले कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ लागतमा निर्माण भएको सो आयोजनाबाट २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन हुँदै आइरहेको छ ।

कम्पनीको साधारण लगानी फिर्ता हुन ९.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन २९.८६ वर्ष लाग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।