युनिक नेपाल लघुवित्तको नाफामा पहिरो, खराब कर्जा सीमाभन्दा धेरै

0
Shares

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको खुद नाफामा पहिरो गएको छ । ब्याज आम्दानी र सञ्चालन आम्दानी दुबै बढ्दा पनि कम्पनीको नाफामा उच्च गिरावट देखिएको हो ।

पुससम्म कम्पनीले ७१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा पनि संस्थाको खराब कर्जा र अन्य सञ्ंचालन खर्चमा आएको वृद्धिले खुद मुनाफा प्रभावित हुन पुगेको हो । गत वर्ष ४ करोड ८८ लाख राइटब्याक गरेको कम्पनीको चालु आवको यस अवधिमा शुन्य असुली छ भने खराब कर्जा नोक्सानी वापत ८ करोड ६४ लाख बढी प्रोभिजन गरेको छ ।

संस्थाको खराब कर्जा ६.३६ प्रतितशबाट बढेर ७.३७ प्रतिशत पुगेको छ । जुन राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै हो । राष्ट्र बैंकले कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा धेरै खराब कर्जा हुने संस्थालाई जरिवाना गर्ने गरेको छ ।

चुक्ता पुँजी ११ करोड ६ लाख रहेको कम्पनीको जगेडा कोषमा २७ करोड १ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा, प्रति सेयर नेटवर्थ ३६६ रुपैयाँ १७ पैसा छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी ७३.२२ प्रतिशतले बढेर १२ करोड २५ लाख ४३ हजार रुपैयाँ पुगेको छ । यस्तै संस्थाको सञ्चालन नाफा ७६० प्रतिशतले बढेर ९४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको खुद व्याज आम्दानी ७ करोड ७ लाख ४२ हजार रुपैयाँ र सञ्चालन मुनाफा ११ लाख २ हजार रूपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।