पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल


सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ ।

मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब ९८ करोड रुपैयाँ खर्च भएको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए ।

बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै एक अर्ब रुपैयाँ लगानी गरिने र उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ । बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जंगल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटल निर्माण भइरहेको बागमती–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए ।

“भरत ताललाई बागमती नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाउँदै छौँ, ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ”, उनले भने ।  नगरको बजेट, संघ र प्रदेशबाट आएको अनुदानका साथै बजेट थपेर तालको काम पूरा गर्ने नगरप्रमुख थापाले बताए ।  “तालको काम २० देखि २५ प्रतिशतसम्म मात्र भएको छ, तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीति बनाएका छौं”, उनले भने ।

तालमा माछा र हाँस पालन थालिएको छ । यसबाट आम्दानी बढाउन मद्दत पुग्ने नगरपालिकाले जनाएको छ  । ताल रहेको एक सय २१ बिघामा बहुउद्देश्यीय परियोजना सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बताए । “बागमती नदीको बगरलाई प्रयोग गरेका छौँ, यो नगरपालिकाभित्र र नगरकै विकास तथा समृद्धिका लागि प्रयोग गरिँदैछ”, उनले भनिन् ।

भरत तालमा विशेषगरी आन्तरिक र भारतीय पर्यटक आउने गरेका छन् । वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्ने गरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ । तालमा अहिले दैनिक पाँच सयजनाले रोजगारी पाएका छन् । तालमा अहिले साना ठूला गरेर करिब ४० डुंगा सञ्चालनमा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।