पर्यटकको आकर्षक गन्तव्य बन्दै ओखरेनी


सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चे स्थित ओखरेनीडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको सो स्थललाई भूकम्पपछिको पुनःनिर्माणले बस्तीलाई थप सुन्दर बनाएको थियो । बौद्धमार्गीको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा र स्तूपाले यहाँको सुन्दरतालाई अब्बल बनाएको हो ।
बाटैभरी र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरी राता जस्ताका एकैनास घर सो स्थानमा रहेका छन् ।

बस्तीका बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने वित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँलाई थप आकर्षित गरिरहेको जनाइएको छ । अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रङ्गिएको छ ।

पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् यो आकर्षक पर्यटकीय गन्तव्य हो । प्राकृतिक दृश्यका लागि मात्रै नभइ अर्गानिक खाद्य तथा नगदेबालीको स्वाद चाख्न पाइने ओखरेनी हिमाली गाउँ हो । बजारमा पाइने मल पुग्दै नपुगेको यो गाउँमा पाइने आलु, मुला जिल्लामा मात्रै होइन बाहिर पनि प्रख्यात छ । चिसो ठाउँ भएकाले यहाँ धान नौ महिनामा मात्रै पाक्छ । कोदो हुँदैन । त्यसैले यहाँका बासिन्दा आलु, मुला उत्पादन भएपछि धान, मकै, कोदोसँग साट्न बेँसी झर्ने गर्थे ।

यहाँ आउने जङ्गली बँदेलले दुःख दिन थालेपछि किसानले आलु, मुला लगाउन विस्तारै छाड्न थालेका छन् । “त्यसको विकल्प अहिले किबी खेती सुरु गरिएको छ,” गाउँकै अगुवा तथा स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पा भन्छिन्, “गाउँमा अहिले तीन हजारभन्दा बढी बिरुवा रोपिएको छ ।” लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिज मार्न प्रतिबन्ध छ । त्यसैले पनि स्थानीयवासीले अन्य बालीको विकल्पमा किबी रोजका हुन् ।

“यहाँको हावापानी अनुसार किबीको उत्पादन राम्रो हुने देखियो,” उनले भने, “गाउँपालिकाले किबी पकेट क्षेत्र घोषणा गरी किबी खेती विस्तार गरेकाले गाउँवासी उत्साहितसमेत छन् ।”

ओखरेनीवासी गाउँमा आएका आगन्तुकलाई भव्य सम्मान गर्छन्, स्नेह गर्छन् । सत्कार गर्छन् । यहाँ आइपुगेका पाहुनालाई अहिले व्यक्तिकै घरमा बस्न दिइन्छ । पछिल्लो समय यहाँ पर्यटकको चासो बढेको छ ।“अब हामी होमस्टेको तयारीमा छौँ” स्थानीयवासी पदमबहादुर लामा भन्छन्, “हामी कर तिछौं, होमस्टेका लागि गाउँपालिकाले पहल गर्नुपर्छ ।” उनले ठाउँ अभावका कारण ठूलो संख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै राख्नुपर्ने अवस्था भएको बताए ।

आकर्षक गन्तव्यस्थल भएर पनि ओखरेनी ओझेलमा छ । काठमाडौँबाट एकै दिनमा पुगेर फर्कनसमेत सकिन्छ । काठमाडौँको साँखुबाट यो ठाउँ ५८ किलोमिटरको दूरीमा पर्छ । सार्वजनिक बसको यात्रा गर्दा चावहिलको चुच्चेबाट यहाँका लागि बस छुट्छ । काठमाडौँ–बनेपा–पाँचखाल–जिरोकिलो–मेलम्ची–नवलपुर–गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ ।

त्यस्तै जिल्ला सदरमुकाम चौताराबाट २२ किलोमिटरको दूरीमा रहेको ओखरेनीका लागि अर्को ‘रुट’ झनै रमणीय छ । चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगिन्छ । स्याउले बजारबाट उकालो लागेपछि विभिन्न बासनादार वनस्पतिको स्वाद लिँदै सानो ओखरेनी पुगिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।