मदन भण्डारी राजमार्ग : ३५ पुलमध्ये ४ पुलको निर्माण सम्पन्न


मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ ।

बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ ।

उनले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए । निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उनले जानकारी दिए । उनले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

“सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ”, उनले भने, “यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ ।” उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए । उनका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ ।

निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि चार सय मिटरसम्मका रहेको उनले बताए । १० अर्ब १३ करोड रुपैयाँको लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।