भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्यांकरमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ ।
नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ ।
निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशंका गरिएको छ । “केन्द्रबाट आउनुभएको छानविन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहेको छ”, उनले भने ।
नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे १ख २१५१, उत्तरगङ्गा यातायात प्रालीका नाममा रहेको ना७ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड टे«डर्सका नाममा रहेको ना७ख ६९७४ नम्बरको ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ ।
ती ट्यांकर हाल चारआलीस्थित निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ । भारतबाट ट्याङ्करबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै विक्रेता पेट्रोलपम्पमा पठाउने चलन छ ।
भारतमा नेपालको तुलनामा मट्टितेलको मूल्य कम रहेको छ । अझ सरकारी कोटाको मट्टितेल झनै सस्तो हुने गर्दछ । नेपाल ल्याइएको डिजेलमा भारतको सस्तो मट्टितेल मिसाइएको हुनसक्ने आशङ्का गरिएको छ ।
पूर्वी नाका काँकरभिट्टाबाट भारतको सिलिगुढी डिपो ३५ किमी टाढा रहेको छ भने चारआली डिपो १५ किमीमा छ । भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्याङ्करको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्दछ ।
चारआलीस्थित निगमको कार्यालयले नवदुर्गा आयल स्टोर्सको ट्यांकरमा आएको डिजेलको घनत्व आठ सय १३ किलो प्रतिघनमिटर मापन गरेको थियो । जबकि त्यही तेल भारतको सिलिगुढीमा लोड गर्दा आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो । निगमले अढाई किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ ।
सिलिगुढीबाट चारआली आइपुगेका चारवटै ट्याङ्करको डिजेलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टितेल मिसावटको आशङ्का गरिएको हो । मट्टितेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया