साना दाबी भुक्तानी पाउन पनि बीमा कम्पनीहरुमा पटक पटक धाउनुपर्ने बाध्यता

0
Shares

बीमा कम्पनीहरुमा बीमा गरेका बीमितहरुले साना दाबी भुक्तानी पाउन समेत बीमा कम्पनीहरुमा पटक पटक धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन १४ गते आइतबार मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा आयोजना गरिएको बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानी दिन आनाकानी गर्ने गरेको, कृषि तथा पशुबीमा गर्न बीमा कम्पनीहरु गाउँमा नआउने गरेको, बीमाका बारेमा जानकारी नपाएको लगायतका गुनासाहरु राखेको हुन् । साथै उनीहरुले जग्गाधनीले नभई जग्गा भाडामा लिएर खेती गर्ने कृषकहरुले नै कृषि बीमाको दाबी भुक्तानी पाउने व्यवस्था गर्न बीमा प्राधिकरणलाई आग्रह गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाउने भएकाले जीवन तथा घर, सम्पत्ति, सवारी साधन, कृषिबाली र पशुपन्छीहरुको बीमा गरेर ढुक्क हुन सबैलाई आग्रह गरेका थिए ।

प्रमुख गुप्ताले गाउँ–गाउँसम्म बीमा सम्बन्धी जानकारी गराउने दायित्व जनप्रतिनिधिहरुको समेत भएकाले बीमा सचेतना अभिवृद्धिका लागि भूमिका निर्वाह गर्न वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरेका हुन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले नगरपालिकाभित्रका साना तथा ठूला घरहरुको बीमालाई अनिवार्य गरी आर्थिक सुरक्षण गर्न आग्रह गरिन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले सञ्चालन गरेको कार्यक्रममा कञ्चनरुप नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, कृषक, बीमा, बैंक र वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता लगायत गरी करिब ९० जनाको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।