मोदी इनर्जीको आइपीओ फागुन २५ गतेदेखि


मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले २९ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकको दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स. हाल कुश्मा नगरपालिका ८ का स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा चैत ९ गतेभित्र आवेदन दिनु पर्ने छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कहाँबाट दिन सकिन्छ आवेदन ?

स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।

कम्पनीको बारेमा

कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १२ वर्ष ११ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ वर्ष ८ महिना रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।