इलामका किसानलाई १४ लाख रुपैयाँको कृषि सामग्री सहयोग


इलाम नगरपालिका–१० ले किसानलाई १४ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ ।

वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न पे्ररित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो । कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए ।

किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ थान जाली नेट, ४० थान टनेल प्लाष्टिक र दुई हजार एक सय मिटर प्लाष्टिकको पाइप वितरण गरिएको छ ।

यस्तै गोठ सुधारअन्तर्गत २८ किसानलाई गिट्टी, सिमेन्ट, बालुवा र रड वितरण गरिएको छ । वडा कार्यालयको १० लाख रुपैयाँ र किसानको तीन लाख ९८ हजार रुपैयाँको लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए ।

किसानलाई इलाम नगरपालिकाका प्रमुख केदार थापाले सो सामग्री हस्तान्तरण गरे । उनले व्यावसायिक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताए ।

कृषि क्षेत्रबाट मात्र समग्र देशको आर्थिक विकास हुने उल्लेख गर्दै थापाले आगामी वर्ष पनि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । “किसानका समस्या पहिचान गरी आगामी वर्ष थप कार्यक्रम ल्याउने योजना छ”, उनले भने ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।