प्रभु स्मार्ट फन्डको ८ करोड इकाई बिक्रीमा


सामुहिक लगानी कोष योजना ‘प्रभु स्मार्ट फन्ड’ को ८ करोड इकाई यहि आज (फागुन १८ गते) देखि बिक्रीमा आएको छ ।

फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड मूल्यको ८ करोड इकाई बिक्रीमा आएको प्रभु क्यापिटलले जानकारी दिएको हो ।

निष्कासन भएकोे ८ करोड इकाईमध्ये १ करोड १२ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेड र १ प्रतिशत वा ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । सर्वसाधारण लगानीकर्ताले ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

इकाईको निष्काशन बन्द छिटोमा फागुन २३ गते हुनेछ भने सो अवधिसम्ममा सबै इकाई बिक्री नभएको खण्डमा चैत ५ गतेसम्म इकाईको बिक्री खुला रहनेछ । लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । इकाई बाँडफाँड भएको मितिले १० वर्षसम्म योजनाको अवधि रहनेछ सो पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने फन्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी–३) रेटिङ्ग प्रदान गरेको छ । यस्तै कोष प्रबद्र्धकलाई इक्रा नेपालले ‘इक्रा एनपि इस्यूअर रेटिङ ट्रिपल बी रेटिङ्ग’ प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

योजनाको आकार ८० करोड रुपैयाँ रहेको दश वर्षे बन्दमुखी योजना ‘प्रभु स्मार्ट फन्ड’ को कोष प्रवद्र्धमा प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

योजना व्यवस्थापक प्रभु क्यापिटलले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस १९ गते मंगलबार इकाई बिक्रीको अनुमति पाएको थियो । फन्डको इकाई निष्कासनको अनुमति माग्दै योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले गत साउन २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

हाल प्रभु म्युचुअल फन्ड अन्तर्गत हाल प्रभु सेलेक्ट फन्ड सञ्चालनमा रहेको छ । उक्त योजनाको आकार एक अर्ब २५ करोड बराबर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।