८ करोड बजेटमा महेन्द्रनगरका सडक विस्तार गरिँदै


पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत आठ करोड रुपैयाँ बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो ।

यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नति भइरहेको छ । सडक स्तरोन्नति सकिएसँगै कालोपत्रे गर्ने कार्य हुने सूचना अधिकारी चटौतले बताए ।

“दश पाइप कल्भर्ट चौडा गर्ने अन्तिम चरणमा पुगेको छ”, उनले भने, “सडकको चौडाइ बढाएर चार लेनको बनाउनका लागि कार्य अगाडि बढेको छ ।” ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक\एक लेन थप्ने कार्य भइरहेको उनको भनाइ छ । गत वर्ष सडक वोर्डबाट राजमार्गको भाँसी सडकखण्ड चौडा गर्ने कार्य गरिएको थियो ।

गड्डाचौकी, दैजी, सिसैयालगायत सडकखण्डमा सडक चौडा गर्ने कार्य यसअघि नै गरिएको छ । सडक चौडा गर्ने कार्यका लागि मुमताज कन्ट्रक्सन, जसलिङ्ग जेभी र कल्भर्ट चौडा गर्नका लागि मैनाचुली जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

पुराना ठेक्काबाट बचेको रकमबाट पुनःबोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको कार्य अगाडि बढाइँदै आएको छ । चालु आवको असार मसान्तसम्म सडक र कल्भर्ट चौडा गर्ने कार्य पूरा गर्नका लागि समय सीमा निर्धारण गरिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सात वटामा सडक निर्माणको कार्य गरी रहेको छ ।

“जग्गा प्राप्ति नहँुदा एक वटा निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति कार्य अगाडि बढ्न सकेको छैन”, सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, “बाँकी सातमा कार्य अगाडि बढेको छ ।”

सडक स्तरोन्नतिको प्रगति हालसम्म १५ प्रतिशतसम्म छ । “दुई वर्षभित्रै सडक स्तरोन्नति गरी सक्नुपर्ने गरी ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ”, उनले भने, “सातवटै सडक स्तरोन्नतिका लागि तीन करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।” सात वटै सडक आठदेखि १० किलोमिटरका रहेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।