उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८९ गाडी कारबाहीमा


काठमाण्डौं उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडी कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सोमबार बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरेको थियो । होल्ड भएका गाडीलाई सोमबार बेलुका ५ बजेपछि सम्बन्धित गाडी धनीको जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फागु अर्थात होली पर्वलाई व्यवस्थित बनाउन बिहानैदेखि सुरक्षा जाँचमा कडाइ गरिएको हो । सोमबार बिहानैदेखि उपत्यकाका झण्डै ७० ठाउँमा ट्राफिक चेक पोइन्ट राखिएको थियो ।

होलीमा कतिपयले उच्छ्रिङ्खल गतिविधि गर्ने, लोला हान्ने, जाँड रक्सी र लागुपदार्थ खाएर गाडी चलाउने भएकाले यसलाई रोक्न सुरक्षा जाँचलाई कडाइ गरिएको र दर्जनौँ कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए ।

होहल्ला नगरी, जाँड रक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गर्दा पनि नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको बताइएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।