कोसी प्रदेशमा समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गरिने


कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको छ ।

मन्त्रालयले पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई कारबाही गरिने चेतावनी दिएको हो ।

काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गाप्रसाद चापागाईंले पुँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न आग्रह गरे ।

उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीव्रता बढाउनुपर्ने बताए । उनले भने,“काम गर्ने जिम्मा तपाईँहरुको हो । निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौँ । तर, सम्झौताअनुसार काम गर्ने त फेरि पनि तपाईँहरुकै हो । मन्त्री भएर मन्त्रिपरिषद् बैठकमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न ।”

सचिव मोहनराज चापागाईंले विभिन्न बाहनामा काम रोक्न नहुनेमा जोड दिए । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।