कृषकलाई डेढ करोड रुपैयाँ अनुदान


कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९\८० मा डेढ करोड रुपैयाँ भन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ ।

एक करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनोट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख किरण सिग्देलले ९२ वटा कृषि फार्म, सहकारी र समूह अनुदानका कार्यक्रममा छनोट भएका जानकारी दिए ।
“सार्वजनिक सूचना आह्वान गरेर सङ्कलन भएका आवेदनको स्थलगत मूल्याङ्कन गरी मापदण्डमा पर्नेलाई छनोट गरिएको हो,” उनले भने, “छनोट भएकाहरुलाई सम्झौता गर्न बोलाएका छौँ ।”

३० लाख रुपैयाँ बजेट विनियोजन भएको साना सिँचाइ कार्यक्रममार्फत १५ वटा फार्म, सहकारी र समूहले सिँचाइ नहर, पाइप खरिद जडान र ट्याङ्की निर्माण गर्न कूल लागतको ९० प्रतिशत अनुदान पाउने भएका छन् । साना सिँचाइ कार्यक्रमका लागि २२ वटा आवेदन परेको थियो ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले २५ लाख रुपैयाँ बजेट विनियोजन भएको आलु खेती प्रवद्र्धन कार्यक्रमका लागि १८ वटा आवेदन परेकामा छनोट भएका १० वटा समूहले प्रस्ताव गरेका कार्यक्रम गर्न कूल लागतको ५० प्रतिशत अनुदान पाउने बताए ।

६० लाख रुपैयाँ बजेट विनियोजन भएको साना व्यावसायिक कृषि फार्म कार्यक्रममा ९८ वटा आवेदन परेकामा ३० वटाले कूल लागतको ५० प्रतिशतका दरले अधिकतम रु दुई लाखसम्म अनुदान पाउने भएका छन् । पाँच लाख रुपैयाँ बजेट भएको बाँझो जग्गामा प्रोत्साहन कार्यक्रममा आवेदन पेस गरेका सबै १३ वटै फार्मले प्रतिरोपनी पाँच हजार रुपैयाँका दरले अनुदान पाउनेछन् ।

कलस्टरमा रैथाने बाली कार्यक्रमका लागि सातवटाको आवेदन परेकामा पाँचवटा छनोट भएका छन् । ५० प्रतिशतका दरले अनुदान दिइने यो कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट छ ।

आलु, दलहन, तेलहन र तरकारीको जिल्लास्तरमा बीउबिजन आत्मनिर्भर कार्यक्रममार्फत दुईवटा फार्मले रु तीन लाख अनुदान पाउनेछन् । १० लाख रुपैयाँ बजेट भएको विशेष बाली प्रवद्र्धन कार्यक्रममार्फत ६ वटा फार्म छानिएका छन् । ९० प्रतिशत अनुदान रहेको यो कार्यक्रममा १० वटा आवेदन परेको थियो ।

तीन लाख रुपैयाँ बजेट भएको क्षेत्रफलका आधारमा तरकारी उत्पादन प्रोत्साहन कार्यक्रमका लागि आठवटा फार्म छानिएका छन् । प्लास्टिक घरमा प्रति एक सय वर्गमिटर र खाली जग्गामा प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान पाउनेछन् । यो कार्यक्रममा नौवटा आवेदन परेको थियो ।

मसला प्रवद्र्धन कार्यक्रममा छनोट भएका दुईवटा फार्मले अदुवा, अलैँची, बेसार, प्याज, लसुन खेतीका लागि पाँच लाख रुपैयाँ अनुदान पाउने भएका छन् । फलफूल, तरकारी तथा नगदेबालीको बिरुवा नर्सरीको कार्यक्रममा चारवटा आवेदन परेकामा छनोट भएको एकवटा फार्मले पाँच लाख रुपैयाँ अनुदान पाउने कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले बताए । केन्द्र अन्तर्गतका अन्य कार्यक्रममा अनुदानका आवेदन पेस गरेकाहरुको पनि स्थलगत निरीक्षण र मूल्याङ्कनको काम भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।