भैरहवा विमानस्थलबाट पुनः नियमित उडान सुरु


देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण भन्दै उडान स्थगित गरेको थियो ।

कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको जजिरा एअरको विमानले आजै बिहान त्यहाँबाट ८ बजेर १५ मिनेटमा ९९ यात्रु लिएर उडेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गर्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सञ्चालन गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको क्यानले जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।