हिमालयन बैंकको ७ करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत


हिमालयन बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी बैंकको उक्त सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन बैंकको नामबाट सिभिल बैंकको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । हिमालयनले सिभिल बैंकलाई १:०.८०२८ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।

हिमालयन बैंक र सिभिल बैंकले फागुन १२ गतेदेखि संयुक्त कारोबार थालेका थिए । दुई बैंकलाई एकीकृत कारोबार थाल्ने नेपाल राष्ट्र बैंकले माघ १७ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंकलाई फागुन १६ गतेभित्र एकीकृत कारोबार थाल्न केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

सिभिल बैंकलाई गाभेपछि बनेको हिमालयन बैंकको अधिकृत पुँजी २६ अर्ब, कुल सम्पत्ति ३३४ अर्ब सहित बैंक सातौँ ठूलो बैंक भएको छ । यस्तै बैंकको चुक्ता तथा जारी पुँजी २१ अर्ब ६५ करोड, कुल पुँजी ३४ अर्ब, कुुल निक्षेप २७४ अर्ब र कुल कर्जा २५० अर्ब पुगेको हो ।

हिमालयन बैंकका नेपाल भर १८९ शाखाहरु, २० विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएम बुथ सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।