गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी


कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन् ।

गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन् ।

“दुई वर्षअघि बैंकबाट पाँच लाख रुपैयाँ ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ”, उनले भनिन्, “अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।”

जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन् । मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेका छन् । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् ।

“रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ ।” उनले भनिन्, “केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे ।”

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको बताइन् । “अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन”, उनले भनिन्, “तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन् ।” उनले मल र बाख्राबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन् ।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताइन् । “कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ”, उनले भनिन्, “बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन ।” गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ । यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । गड्यौला मल प्रतिकिलो ३५ रुपैयाँका दरले बिक्री हुने गरेको जोशीले बताइन् ।

उनले भनिन्, “गड्यौला प्रतिकिलो तीन हजार रुपैयाँका दरले बिक्री हुन्छ ।”  पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन् । “यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ”, जोशीले भनिन् ।