प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन


प्रभु क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गरेको हो ।

निष्काशित कुल ८ करोड इकाईमध्ये कोष प्रवर्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई गरी कूल १ करोड २० लाख ईकाई सुरक्षित गरिएको छ ।

बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले फाल्गुण २८ गते कार्यालय समयावधिसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबद्र्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।