एक वर्षमा ६८० अंकले नेप्से घट्दा बजार पुँजीकरणमा ९ खर्बको क्षति

0
Shares

धितोपत्र बजार पछिल्लो एक वर्षमा ६८० अंकले घट्दा सेयर लगानीकर्ताको सेयर बजारमा रहेको सम्पत्तिमा ९ खर्ब बराबरको क्षति भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ माघ मसान्तमा २८०१.६ अंकमा रहेको पुँजी बजार मापक नेप्से सूचकाङ्क २०७९ माघ मसान्तमा घटेर २१२१.९० अंकमा झरेको हो ।

नेप्सेमा आएको गिरावटसँगै सूचीकृत कम्पनीको सेयरमूल्य घट्दा समीक्षा अवधिमा लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पुँजीरकणमा ८ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँले घटेको छ ।

विसं २०७९ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । विसं २०७८ माघ मसान्तमा बजार पुँजीकरण ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो एक वर्षमा नेप्सेमा थप २० वटा कम्पनी सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ माघमा सूचीकृत कम्पनीहरूको संख्या २२६ रहेकोमा विसं २०७९ माघमा एक्त संख्या बढेर २४६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५.८० प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२.९० प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ माघ मसान्तमा सूचीकृत ७ अर्ब ११ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ६१ करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।